सोमबार, वैशाख ८, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०५:०९ |सिड्नीको समय: ०३:०९ |काठमाडौंको समय: २२:५४

रविले चितवनमा सञ्चालन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता

एएनजेड खबरअगस्ट ६, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई स्वास्थ्य उपचार गर्ने भनेर चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा एम्बुलेन्सलाई निलो रंगको बनाएर आफ्नो क्षेत्रमा संचालन गर्न भन्दै प्रदान गरेका थिए। उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेजको भएको खुलेको हो।

लामिछानेले यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा एम्बुलेन्समा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेर उनले आफ्ना क्षेत्रका मतदातालाई एम्बुलेन्स दिएपछि उनको कार्य विवादमा भएको थियो।

विवाद पछि उक्त एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको छ । रास्वपा स्रोतका अनुसार उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी भैरहेको छ ।

भारतीय दूतावासले उक्त एम्बुलेन्स आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको थियो । लामो समयदेखि नवीकरणसमेत नगरिएको उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरी मोबाइल क्लिनिकको रुपमा सन्चालमा ल्याएको घोषणा गरिएको थियो । मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै व्यवस्था गरिदिएको थियो ।

तपाइँको प्रतिक्रिया