मंगलबार, असोज २२, २०८१ |Tue Oct, 2024
अक्ल्याण्डको समय: १४:४८ |सिड्नीको समय: १२:४८ |काठमाडौंको समय: ०७:३३

काठमाडौं–अष्ट्रेलिया सीधा उडान : हल्लाभन्दा फरक छ वास्तविकता !!

एएनजेड खबरअप्रिल १, २०२३

अब काठमाडौंबाट अष्ट्रेलियाको सीधा उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट ।’ यो खबरले अष्ट्रेलिया उड्न चाहने विद्यार्थीमा खुशीको सञ्चार गराएको छ । तर, वास्तविकता हल्ला भएभन्दा फरक देखिएको छ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश घिमिरेले काठमाडौंबाट अष्ट्रेलियाको सीधा उडानबारे सरकार र निगम दुबैको गम्भीर चासो रहेको बताएका छन् । ‘एएनजेड खबर’संग कुरा गर्दै उनले, अहिले हल्ला भएजस्तो तत्कालै उक्त सेवा सुचारु हुन नसकिने समेत बताए ।

‘हामीले सिड्नीस्थित हाम्रो दूतावासमार्फत पत्राचार गरेका हौँ’, उनले भने, ‘यसको प्रक्रिया त शुरु भयो, तर निश्कर्षमा पुगिसकेको होइन ।’
निगमको योजना कार्यान्वयन हुने वा नहुनेबारे निगमले नै केही दावी गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

उनले बताएअनुसार, अष्ट्रेलियाका लागि नियमित उडान शुरु गर्नुपर्ने भयो भने सबैभन्दा पहिला त्यही स्तरको नयाँ एयरक्राफ्ट खरिद गर्नुपर्छ । एयरक्राफ्ट खरिदका निम्ति आर्थिक, प्रशासनिक तथा कानुनी झमेलाहरु अर्कातिर छन् ।
निगमनसँग हाल उपलब्ध प्राविधिक तथा गैरप्राविधिक जनशक्तिले त्यति ठूलो परियोजनालाई व्यवथापन गर्न समस्या हुने कारण नयाँँ जनशक्ति व्यवस्थापन गर्नु अर्को समस्याका रुपमा रहेको घिमिरेले सुनाए ।

नेवानिले अष्ट्रेलिया उडान गर्ने कुरासँग नेपाली विद्यार्थी तथा अभिभावकको चासो बढ्नुको मुख्य कारण हो, भाडा दरमा सहजता आउनु । प्रवक्त घिमिरेले अनुमानित भाडादरबारे निगमले तयारी गर्न सक्ने, तर सार्वजनिक रुपमा भन्न नमिल्ने पनि बताए ।
‘काम नै अगाडि नबढेको अवस्थमा यति भाडा, उति भाडा किन भन्नु ?’ उनले भने, ‘अरुको भन्दा सस्तो हुन्छ भन्ने कुरा निश्चित हो, यति–उति अहिले नभनौँ ।’

एजेन्सीको घेराबन्दी

नेपालबाट सबभन्दा बढी यात्रुले यात्रा गर्ने गन्तव्य मुलुक अष्ट्रेलियाका लागि राष्ट्रिय ध्वजावाहक जहाजले सेवा सञ्चालन गर्ने विषयलाई असफल बनाउन निजी क्षेत्रका ट्राभल व्यवसायीको घेराबन्दी शुरु भइसकेको छ ।
नेपालका पर्यटन व्यवसायीहरुका अनुसार, विदेशी विमान कम्पनीले दिने कमिशन, विभिन्न नामका सहुलियत तथा लाभहरुको तुलनामा राष्ट्रिय ध्वजावाहक कम्पनीबाट केही प्राप्त नहुने कारण उनीहरुको घेराबन्दी शुरु भएको हो ।

अन्य सन्दर्भमा पनि राष्ट्रिय ध्वजावाहक जहाजका विभिन्न कमजोरीलाई सार्वजनिक गर्दै आएको निजी क्षेत्रका ट्राभल व्यवसायीहरुले आफ्नो भाग खोसिने स्थितिमा जुनसुकै कदम चाल्ने एक पर्यटन व्यवसायी बताउँछन् ।
‘साँच्चै नै नेवानिले नियमित उडान गर्दैछ भनेर तिनीहरुले चाल पाए भने ढुंगाले हानेर जहाज तोड्फोड गर्न पनि पछाडि पर्दैनन्’, उनले भने, ‘नेवानिलाई अष्ट्रेलिया पुर्याउने कुरा एकदमै राम्रो हो, तर निजी क्षेत्रले सजिलै त्यो काम गर्न दिन्छ भनेर विश्वास गर्न सकिँदैन ।’

तपाइँको प्रतिक्रिया