शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:०३ |सिड्नीको समय: २१:०३ |काठमाडौंको समय: १६:४८

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

एएनजेड खबरमार्च १७, २०२३

आईसीसी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरेका छन् ।

आज बिहान वालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् । नेपालले हिजो घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु मा छनोट भएको थियो।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट खेलाडीलाई जनही ३ लाख दिने घोषणा समेत गरेका छन् । प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’

अब प्रत्यक खेलाडीले सरकारको तर्फबाट यसअघि घोषणा गरिएको २ लाख र यस पटकको ३ लाख गरी जनही ५ लाख पुरस्कार पाउने भएका छन्।

तपाइँको प्रतिक्रिया