शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:५२ |सिड्नीको समय: २०:५२ |काठमाडौंको समय: १६:३७

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

एएनजेड खबरजुन १६, २०२२

काठमाडौं– सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।

त्यस्तै सरकारले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीले सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाको राजीनामा पनि स्वीकृत गरेको बताए । मन्त्री कार्कीले सरकारले एपीजी एशिया प्यासिफिक ग्रुप अफ मनि लर्निङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारण सभामा सहभागिताको लागि सचिव द्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने, मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाललाई रातमाटे सबस्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने, मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृत दिने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले दक्षिण कोरियाको सिओलमा मिति २०७९ अनुसार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिजम इण्डस्ट्री कन्फ्रेन्स २०२२ र द थर्टीसेभेन्थ सिओल इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई स्वीकृत दिने, तारागाउँ विकास समितिको अध्यक्षमा सुरेश साह जोशी र सदस्यसचिवमा महेन्द्रकुमार थापालाई नियुक्ति गर्ने निर्णय गरेको बताए । प्रवक्ता कार्कीले २०७९ असार ८ देखि १० सम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत दिने, निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्म निरन्तरता दिने, सरकारी जग्गा दर्ता, तथा लिज उपलब्ध गराउन सम्बन्धी कार्यनीति २०७८ स्वीकृत गर्ने, सरकारी सम्पती तथा निजी जेन्सी माल सामान बिक्री तथा मिनाहसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने र उपचार खर्च, राहत तथा बाल आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि बताए । 

तपाइँको प्रतिक्रिया