शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३१ |सिड्नीको समय: २०:३१ |काठमाडौंको समय: १६:१६

एनआरएनलाई नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको आग्रह

एएनजेड खबरजनवरी ११, २०२२

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले विश्वभर बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न आग्रह गरेका छन् । उनले डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन् । सोमबार गैरआवासीय नेपाली संघ युके, अमेरिका, अष्ट्रेलियालगायतका एनसीसीहरुद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ ।’
नेपाललाई अल्प विकसित मुलुकबाट स्तरोन्नति गर्न वर्षेनी अर्बौ डलर लगानी आवश्यक पर्ने र त्यसको लागि लगानीकर्ताहरुलाई सेवा सुविधा दिनुपर्ने अवश्यकता रहेको अर्थमन्त्री शर्माले बताए । साथै अर्थ मन्त्री शर्माले सरकारले वैदेशिक लगानीको वातावरण सहज बनाइरहेको बताए ।

उक्त कार्यक्रममा अर्थ सचिव मधु मरासिनीले भने “तपाई जहाँ हुनु हुन्छ त्यहिँ बाट खाता खोल्न पाइन्छ, फिर्ता लग्न पनि पाइन्छ । पैसासंग भावना र माया पनि जोडिन्छ । तपाईंहरुले आर्जन गरेको ज्ञान, सीप, क्षमता मातृभूमिको हितमा लगाउन पनि वातावरण निर्माण गर्छ भन्ने हाम्रो अपेक्षा छ । हाम्रो सम्बन्ध जीवन्त राख्छ, सम्बन्धको सेतुको रुपमा काम गर्छ भन्ने अपेक्षा रहेको बताए । यसरी जम्मा भएको रकमले नेपालमै रोजगारी सिर्जना गर्न मदत पुग्ने, स्वदेशी उत्पादनका लागि लगानी बढाउन उपयोग गर्ने हाम्रो ध्येय छ । देशलाई माया गर्दा बचत सुरक्षित हुने भएकाले व्यापक सहभागिताको लागि अनुरोध गरे । यस भन्दा पहिला पनि डलरमा खाता खोल्न पाइन्थ्यो, तर यस पटक सरकारले त्यसलाई सहजीकरण गरेको उनले बताए ।


त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमै यो नियम ल्याइएको बताए । उनले यस अघि रहेको १०,०० डलरलाई घटाएर ५,००० डलर पुराएको र २ वर्षलाई घटाएर १ वर्ष गरेको बताए । केही बैंकहरुले विदेशी मुद्रामा खाता खोल्न शुरु गरिसकेको र यो प्रावधान विदेशमा हुर्की रहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्ने माध्यम बन्ने आशा पनि व्यक्त गरेका थिए ।


गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले ल्याएको नयाँ सुविधाका लागि सरकारलाई धन्यवाद दिंदै यसले संसार भरिरहेका नेपालीहरुलाई नेपालमा खाता खोलेर आफुसंग रहेको बचत नेपाल भित्र्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले संघले स्थापना कालदेखि नै नेपालको समृद्धि र विकासको लागि साझेदारको रुपमा काम गर्दै आएको स्मरण गरे ।

गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्य ले सरकारले गैरआवासीय नेपालीलाई नेपालमै विदेशी मुद्रामा खाता खोल्न दिने नीति बनाएकाले हाम्रो पहलले सार्थकता पाएको भन्दै यसका लागि अर्थमन्त्री शर्मा र नेपाल सरकारलाई धन्यवाद दिए । आचार्यले भने गैरआवासीय नेपालीले नेपालकै बैङ्कमा पैसा राख्न पाउँदा विदेशमा निर्व्याजी थन्किएको पैसाले यहाँ ब्याज कमाउने छ । त्यसले देशलाई नेपालीको पैसा नेपालमै ल्याउन र नेपालको विकासमा लगानीमा फाइदा पुग्छ । ब्याज पनि प्राप्त हुने, पैसाको पनि सुरक्षा हुने र राष्ट्रलाई पनि फाइदा पुग्ने यो नियम सबै गैर आवासीय नेपालीहरूका लागी सुनौलो अवसर हो ।
उनले नेपाली नागरिकताको निरन्तरताको साथै बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गरी उहाँहरुसंग रहेको सीप, पूँजी र ’गुडविल’ नेपालको विकासमा उपयोग गर्न विशेष नीति ल्याउन पनि नेपाल सरकारलाई आग्रह गरे ।


एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले नेपाल सरकारले एनआरएन हरुलाई पूँजी र श्रोतको रुपमा हेर्नुपर्ने बताए । त्यस्तै एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेपालमा खाता खोल्न न्यूनतम रकम ५ हजार डलरबाट घटाएर १ हजार डलर गराउन, एनआरएन आइडी कार्ड बाहेक एनसीसीले जारी गरेका अन्य प्रमाणलाई पनि मान्यता दिन अनुरोध गरेका छन् । उनले विदेशी लगानी सम्बन्धी कानून कानूनमा समसामयिक सुधार गर्न पनि सुझाव दिए ।

कार्यक्रम एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन एनआरएनए युकेका उपाध्यक्ष नारायण कंडेलले गरेका थिए ।

तपाइँको प्रतिक्रिया