शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०२ |सिड्नीको समय: १६:०२ |काठमाडौंको समय: ११:४७

सिड्नीबाट रामचन्द्र बेपत्ता भएपछिका तीन वर्ष : न लास भेटिन्छ,न सास भेटिन्छ

प्रकाश हुमागाँई/सिड्नीजुलाइ ६, २०२१


प्रवासको बसाई त्यसमाथि तीन सन्तानको अभिभावकीय दायित्व शोभा खड्काका लागि अहिले थाल खाउँ, न भात खाउँ भएको छ । सन्तानलाई अष्ट्रेलियाको शिक्षा दीक्षा अनि आफ्नो व्यवसाय चलाउन कम्मर कसेर लागेका बेला आइलागेको विपत्ति सिनेमाको दृश्यभन्दा कम आकस्मिक छैन। मानिस आफ्नो योजना बनाउँछ तर भगवानले चाहेको विपरीत भएपछि कस्को के लाग्दो रहेछ ? आफूले सम्पूर्ण भरोसा गरेको पति तीन वर्षदेखि वेपत्ता भएपछि शोभाको आङमा घाम लागेको छैन । न पतिको लास भेटिन्छ, न सास । आश्वासन दिनेहरुको कमी छैन । पुलिस प्रशासन भन्छ– हामी लागेकै छौं । नेपाली दूतावासको उही रटान छ । शुभेच्छुकहरु धैर्य नटुटाउन सुझाउँछन् । यद्यपि दु:खको महासागरले निल्न छोडेको छैन । थालेको व्यवसाय कसरी अघि बढाउने दोसाँध छ ।


कसरी भए त रामचन्द्र बेपत्ता ?

२०१८ सेप्टेम्वर १० तारिख सोमवारको साईत पारेर रामचन्द्र खड्का र पत्नी शोभा खड्का सिड्नीको रकडेलमा आफ्नोे नयाँ रेष्टुरेण्ट एभरेष्ट बार्वीक्यूको पहिलो दिनको शुभारम्भमा व्यस्त थिए । ऋणपान गरेर उनीहरुले व्यवसाय शुरु गरेका थिए । शुभारम्भको दिन शुभेच्छुकहरुको जमघट बढ्दै थियो । रेष्टुरेन्ट व्यस्त रहेकै बेला करिव २ः३० बजे टाउको दुख्यो घर गएर आराम गर्छु भनेर निस्केका रामचन्द्र बेलुका रेष्टुरेन्ट बन्द गर्ने बेलासम्म फर्किएनन् । आफैले रेष्टुरेण्ट बन्द गरेर राति ढिलो घर पुग्दा रामचन्द्र घरमा पनि थिएनन् । उनलाई लाग्यो साथीभाइको भेटघाटमा व्यस्त हुनुभयो होला । भोलि त पक्कै आउनु हुन्छ । अहँ त्यस्ता भोलि कति गए, कति आए अत्तोपत्तो भएन । फेरि घरायसी विवाद र पति पत्नीबीच त्यस्तो मतभेद भएको पनि होइन । कुन दशाले कुत्कुत्याएर यस्तो दुर्दिन भोग्नुपरेको हो शोभाले अहिलेसम्म खुट्याउन सकेकी छैनन् ।

मोबाइलका प्रत्येक घण्टीेले शोभालाई झस्काउँछ । घरमा घन्टी बज्यो भने पति झुल्किने आस पलाउँछ । छोराहरु बाँसको मुनाझैं अग्लिँदा छन् । व्यवहारले अँचेटेको अँचेटै छ । प्रवासको ठाउँ आफ्नो घरजस्तो हुन्न । त्यसमाथि कोभिडको आतंकले व्यापार चौपट छ । घरसल्लाह गर्ने भरको लौरो नै भाँचिएपछि शोभाले केही सोच्न सकेकी छैनन् । पतिको खोजविनको लागि कहाँ चाहारिनन् ? कसलाई मात्र भनिनन् । अहँ अत्तोपत्तो छैन । आखिर लुसुक्क किन अलप भए पति ? उनले आफूभित्र हजार प्रश्न गरिन् तर चित्तबुझ्दो उत्तर पाउन सकिनन्। कुनै गुनासो भएको भए कम्तिमा भनेको भए आफूलाई सुधार्ने मौका मिल्थ्यो भन्ने उनलाई लाग्छ । आवेगमा भएको घटना भनौं भने त्यस्तो भएको पनि होइन । आफ्नो पति कतै न कतै सकुशल रहेको विश्वास उनीभित्र छ ।

पति सम्पर्कविहीन भएको २४ घण्टामा उनले स्थानीय प्रहरी प्रशासन समक्ष खोजविनका लागि निवेदन दिइन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) देखि स्थानीय सामाजिक अगुवा हँुदै नेपाली अवैतानिक दूत र क्यानवेरास्थित दूतावासको दैलो रातोदिन ढक्ढकाइन्। रामचन्द्र सम्पर्कविहीन भएको सुरु सुरुमा स्थानीय प्रशासन सहित सवै सामाजिक संस्थाले खोजीका लागि निक्कै पहल गरे ।

रामचन्द्र आफ्नो क्याफेवाट निस्किएर ५ मिनेटको दुरीमा रहेको सेभेन इलाभेनमा गई दुईवटा रेडबुल किनेर हास्दै निस्केको सिसीटीभी क्यामेरामा कैद भएको थियो I मोबाइल लगायत अन्य सम्पूर्ण सामान घरमै छोडेर गएका रामचन्द्रले आफ्नो एक बैंक कार्ड भने बोकेको र दिउँसो ४ः३० बजेतिर घरवाट निस्किएर ७५ डलर ट्याक्सी भाडा तिरेको शोभाले एएनजेडसंगको कुराकानीमा वताईन् । प्रहरीले परिवारलाई दिएको जानकारी अनुसार उनलाई अन्तिम पटक बोन्डाई बीच स्थित एक स्थानिय मदिरा पसलमा गई दुई बोतल वाईन किनेका थिए । तर उक्त पसलवाट बाहिरिएपछि केही खाली स्थान रहेको कारण उनलाई नजिकका कुनै क्यामेरामा नदेखिए पछि उनी त्यहाँवाट कता गए भन्ने पत्ता अहिले सम्म लागेको छैन ।

यहि टिसर्ट लगाएर रामचन्द्र घरवाट निस्किएका थिए

न्यू साउथ वेल्स प्रहरीले घरवाट पैदल निस्किएका जानकारी सार्वजनिक गर्दै अन्तिम पटक देखिदा रामचन्द्रले कालो सर्ट स्लिभ ज्याकेट, सुन्तला रंग र कालो रंगको धर्का भएको हाफ बाहुला भएको सर्ट र कालो लामो पाईन्ट लगाएका थिए । साथै सेन्ट जर्ज पुलिस कमान्डले जानकारी पाउने वितिक्कै रकडेल र आसपासको क्षेत्रमा ब्यापक खोजी गरेका थिए । तर उनी कहिँ भेटिएनन् ।

तीन वर्षको अवधिमा शोभाले खुकुरीको धारमा जीवन बाँच्नु प¥यो । एकातिर पति वियोगको पीडा अर्कातिर व्यवसायको भारी । सन्तानको शिक्षादीक्षाका लागि जुटाउनुपर्ने दायित्व त झन् महाभारत भएर उभिन्थ्यो । एउटी महिलालाई प्रवासको भूमिमा यी सबै बोझ बोकेर बाँच्नुको पीडा शब्दमा कहाँ वर्णन गर्न सकिन्छ र ? अझ स्वास्थ्यमा आएको प्रतिकूल अवस्थाले अर्को अत्यास थप्यो । अहिले पनि पतिको खोजीका लागि शोभाले दूतावास धाउन छोडेकी छैनन् । दूतावास त्यही भन्छ– नेपालबाट हामीले डकुमेन्ट मगाइरहेका छौं ।

‘सुन्दर र शान्त परिवार थियो । कर्म गरेर हातमुख जोर्न पुगेकै थियो । उहाँसहित आफ्नो सुखी र खुसी घरमा सपरिवार मिलेर बसिएको थियो, सवै राम्रै थियो । आखिर किन घर छोडेर हिँड्नु भयो ?’ एएनजेड खवरसंगको कुराकानीका क्रममा शोभा भन्छिन्’– ‘हराएकै दिन साँझ बोन्डाईमा अन्तिम पटक मदिरा किनेको देखिएको भन्ने छ, तर उहाँको चिनो चपेटो केही छैन, कतै अष्ट्रेलियाकै कुनै कुनामा पो बसिरहनुभएको छ कि ? एकदिन टुप्लुक्क आइपुग्नु हुन्छ कि भन्ने विश्वास छ ।’ राज्य प्रहरीले कतैदेखिएमा खवर गर्न सार्वजनिक अपिल गरेको छ, उनी भन्छिन् कतै कसैले कहिँ देखेर प्रहरीलाई खवर गरिदिन्छन् र फेरि परिवारको पुर्नमिलन हुन्छ भन्ने आश धेरै छ ।

पूर्वी जिल्ला संखुवासभा घर भएको यो जोडी इटहरी हँुदै सन् २००८ मा अष्ट्रेलिया आइपुगेको हो । परिवारको भविष्य बनाउन अष्ट्रेलिया टेकेका तीन सन्तानका पिता रामचन्द्र कहाँ गए त्यसको जवाफ कसैसंग छैन । पति वियोगले शोभाको हाँसो आँसुमा अनुवाद भएको छ ।

तपाइँको प्रतिक्रिया