मंगलबार, कार्तिक ६, २०८१ |Tue Oct, 2024
अक्ल्याण्डको समय: ११:३१ |सिड्नीको समय: ०९:३१ |काठमाडौंको समय: ०४:१६

ग्रेटर सिड्नीमा फेरि कोभिडको प्रकोप, प्रतिवन्ध अझै थपिने संभावना

एएनजेड खबरजुन २४, २०२१


This image has an empty alt attribute; its file name is largeImageSrc.adapt_.740.medium.jpg

ब्यापारिक सहर सिड्नीको पर्यटकीय बजार बोन्डाईबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको प्रकोपले फेरि एकपटक यहाँको सम्पूर्ण क्षेत्र तरंगित र त्रसित बनेको छ । बुधवार राति यो समाचार तयार पार्दासम्म बोन्डाई क्लस्टरवाट ३१ जनामा भाइरस संक्रमित भएको पुष्टि भइसकेको यहाँको सरकारी निकायले जानकारी दिएको छ ।


भाईरस संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा यसलाई नियन्त्रण गर्ने अभिप्रायले राज्य सरकारले नयाँ प्रतिवन्ध थपिने घोषणा गरेको छ । सरकारी निकायले पत्रकार सम्मेलन मार्फत सेन्ट्रल कोष्ट,वुलनगंग ,ब्लु माउन्टेन तथा ग्रेटर सिड्नीभर लागु हुने गरी बुधबार साँझ चार बजेदेखि कोरोना भाइरस अन्तर्गतका नयाँ प्रतिबन्ध थपिने घोषणा गरेको हो ।


तर अत्यन्तै आवश्यक नभईकन पूर्णप्रतिवन्ध (लकडाउन) गर्ने योजना तत्काल नभएपनि प्रकोपको शिलशिलालाई मध्यनजर राखेर निर्णय गरिने न्यू साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरीजिक्लयनले स्पष्ट पारेकी छन् ।

के छन् नयाँ प्रतिबन्धमा
नयाँ प्रतिबन्ध अन्तर्गत बालबालिका सहित केवल पाँच जना सम्मलाई मात्र घरमा बोलाउन पाइनेछ । यसै गरी घरभित्र बाहेकका स्थानमा भवन भित्र बस्दा पनि अनिवार्य मास्कको प्रयोग गर्नु पर्नेछ । जिममा एक पटकमा २० जनासम्म मात्र रहन सक्ने छन् भने उनीहरूले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने भएको छ ।यसै गरी भवन भित्रका कार्यक्रममा नाचगान गर्न प्रतिबन्ध लगाइएको छ भने पब लगायतका सार्वजनिक स्थानमा उभिएर पिउन बन्देज लगाइएको छ ।


अत्यन्त छिटो सर्न सक्ने क्षमता भएको “डेल्टा भेरीयन्ट”द्वारा एकै दिन १६ जना संक्रमित बनेपछि “धेरै गम्भीर प्रकोप” फैलाउन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले नयाँ प्रतिबन्ध घोषणा गरेका हुन् । “हामीले यो कदम हल्का रूपमा लिएका होइनौ र अत्यन्तै आवश्यक नभइकन हामी प्रतिबन्ध(लकडाउन) लगाउन चाहँदैनौ” प्रिमियर ग्लाडिस बेरीजिक्लयनले भनिन् ।


सिटी अफ सिड्नी,वेभरली,रेन्डविक,क्यानडा बे,इनर वेष्ट,बे साईड तथा वुल्लाहराका स्थानीय क्षेत्रहरूमा बसोबास एवं काम गर्ने मानिसहरूलाई अत्यावश्यक बाहेक सिड्नीको मेट्रो क्षेत्रबाट बाहिर जान निषेध गरिएको छ । यस अघि मंगलबार सात दिनका लागि अनिवार्य मास्कको नियम थपिएको भए पनि कार्यस्थल र बाहिर हुने कार्यक्रममा पनि मास्कलाई अनिवार्य गरिएको छ ।

बेरीजिक्लयनले लकडाउनको सम्भावनालाई इन्कार नगरे पनि हालको सार्वजनिक स्वास्थ्य उपायहरूमा विश्वास व्यक्त गरेकी छन् । “स्वास्थ्य आदेशको पूर्ण पालना गरे प्रकोपलाई दबाउन राम्रो अवसर हुनेछ” बेरीजिक्लियनले भनिन् ।
मास्कोटमा रहेको वोलाबिज थाई रेस्टुरेन्ट सहित १२ देखि १८ जुन सम्म बोन्डाईको वेस्ट फिल्ड र फिटनेस फर्स्ट पुगेकाहरुलाई जाँच गराउन अधिकारीहरूले अनुरोध गरेका छन् ।

गएको २४ घण्टामा ४४ हजार कोरोना जाँच भएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच सिड्नीबाट न्यूजिल्याण्डको वेलिङटन पुगेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि मङलबार रातिदेखि न्यूजील्याण्डले ट्रान्स–तास्मेन ववल अन्तर्गतको यात्रा स्थगित गरेको छ ।
क्विन्सल्याण्ड र भिक्टोरियाले पनि न्यु साउथ वेल्स अन्तर्गत प्रभावित क्षेत्रका स्थानीयलाई आफ्नो राज्य भ्रमण गर्नबाट रोक लगाएको छ ।

तपाइँको प्रतिक्रिया