शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३१ |सिड्नीको समय: २०:३१ |काठमाडौंको समय: १६:१६

बिदाइ सम्मानमा ब्यस्त राजदूत दाहाल- प्रशंसा धेरै, आलोचना कम

प्रकाश हुमागाँईजुन २१, २०२१


कार्यकाल नसकिँदै फिर्ता बोलाइएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल यतिखेर बिदाइ सम्मान ग्रहण गर्नमा ब्यस्त छन् । नेपालको राजनीतिक उतारचढावको शिकारका कारण २० महिनामा नै सरकारले फिर्ता बोलाएपछि दाहालप्रति सहानुभूति, सम्मान र सद्भाव राख्नेहरुको होडवाजी नै चलेको छ । अष्ट्रेलियाबाट भएको अन्तराष्ट्रिय उडान अवरुद्ध र नेपालमा जारी लकडाउनका कारण मुलुक फिर्ता नहुन्जेलसम्म काम गर्ने अनुमति पाएका राजदूत दाहाल संभवतः अहिलेसम्म यहाँ भएका नेपाली राजदूतहरु मध्येमा कम आलोचित र मित्रवत ब्यवहार भएको राजदूतको कोटीमा परेको सामाजिक अगुवाहरुले बताएका छन् ।
कुनै समय नेपाली कांग्रेसको राजनीतिक आस्थासंग निकट चीतवनका स्थायी वासिन्दा राजदुत दाहाललाई अष्ट्रेलियाको राजदुत पद सवैभन्दा सजिलो वनाईदिनुको सहज मार्ग थियो, चितवन वासीहरुको अष्ट्रेलियामा बाहुल्यता । यहाँका प्रवासी नेपालीहरु संलग्न मुख्य सामाजिक र राजनीतिक क्षेत्रमा चितवनलाई प्रतिनिधित्व गर्नेहरुकै विशेष भूमिका रहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको पारिवारिक निकटता र माओवादी पार्टी प्रवेशको परिणाम स्वरुप अष्ट्रेलियाकोे राजदूत पद प्राप्त गरेपनि यहाँ रहेका नेपाली कांग्रेस निकटसंगको पुरानो राजनैतिक र ब्यक्तिगत सम्वन्धका कारणपनि दाहालको २० महिने कार्यकाल विगतका राजदूतको भन्दा कम आलोचित भएको बताइन्छ ।

उता तत्कालीन नेकपा सरकारले राजदूतका रुपमा यहाँ पठाइसकेपछि अष्ट्रेलियामा रहेका कम्युनिष्टहरुले त नैतिकरुपमा पनि समर्थन गर्नुपर्ने वाध्यताले राजदूतलाई झन् सहज बनाइदियो । प्रखरबक्ता दाहाललाई महामहिम राजदूतभन्दापनि आफू निकटको ब्यक्ति भएको मान्नेहरुको कमी भएन । चाहे एनआरएनए प्रतिनिधि हुन् वा अन्य सामाजिक क्षेत्रका अगुवा र पत्रकार नै किन नहुन् सबैलाई आफ्नो हितैषी बनाउने कुशलताका कारण कुटनीतिक रुपमा इतिहास नै रच्ने त्यस्तो कुनै चामत्कारिक कार्य नभएपनि असल राजदूतको परिचय वोकेर विदाई हुने भाग्यमानीमा भने दाहाल परेका छन् ।

This image has an empty alt attribute; its file name is dahal.jpg


अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसियसन –एन्जा)का अध्यक्ष ऋषि आचार्य राजदूत दाहाल समुदायसंग घुलमिल गर्न सक्ने, समुदायमा भएका साना ठूला सवै कार्यक्रममा उपस्थिति जनाउने र सञ्चार क्षेत्रको महत्व बुझेको ब्यक्ति भएका कारण बढि चर्चा र सबैको प्रिय बनेको बताउछन् । एएनजेडसंगको कुराकानीमा आचार्यले भने, विगतका दिनमा राजदूतावास र समुदायवीच एक किसिमको ग्याप थियो, उहाँको स्वभावकै कारण त्यो खाल्डोलाई पुर्ने काम भएको छ । उहाँको कार्यकाल सुरु भएको केही समयमै कोभिडको महामारी फैलियो, त्यसले राजदूतावासको तत्कालीन कार्ययोजनामा असर गरेको बताउदै आचार्यले भने, कोभिड महामारीको समयमा समुदायसंगको सहकार्यमा राजदूतावासले खेलेको भूमिका प्रशंसनीय छ । तर राजनीतिक आग्रह, पूर्वाग्रहका आधारमा राजदूत नियुक्ति प्रकृया र फिर्ता प्रकृया नै गलत रहेकोले पूर्णकालिन अवधि काम गर्न र कुटनीतिक क्षेत्र बुझेको राजदूत अष्ट्रेलियालाई दिइनुपर्छ । अष्ट्रेलियाको नेपाली समुदायका समस्या जटिल रहेको तर्फ इंगित गर्दै आचार्यले भने नेपालजस्तो कम विकसित राष्ट्रले अष्ट्रेलिया जस्तो विकसित राष्ट्रसंग विद्यार्थीहरु यहाँ पठाएर एक किसिमले शिक्षाको ब्यापार गरिरहेको छ । तर अहिले सम्म विद्यार्थीका हितमा दूतावासले उल्लेखनीय कार्य गर्न नसकेको अध्यक्ष आचार्यको कथन थियो ।


त्यसो त राजदूत दाहालले कार्यकाल नै पुरा गर्न नपाई सरकारको एउटा निर्णयका आधारमा फिर्ता बोलाईएकाले उहाँको कार्यकाललाई सफलता र असफलताको तराजुमा जोख्न नहुने तर्क थियो, अष्ट्रेलियाका नेपाली कांग्रेस नेता दिनेशराज जोशीको । दाहाल बौद्धिक शिष्टता र तर्कशील ब्यक्ति भएकोले यहाँको नेपाली समुदायले उहाँलाई भारी मनले बिदाई कार्यक्रम गरेको बताउदै एएनजेडसंगको टेलिफोन वार्तामा जोशीले भने, राजदुत दाहालले जनमानसमा भिज्न सक्ने कुटनितिज्ञको पर्यायवाची छाप छोड्न सफल भएको, अल्पकालिन कार्यकालमा नेपाल– अष्ट्रेलिया सिधा उडान, दूुतावासको आफ्नै भवन निर्माणका लागि प्रयास, कोभिड महामारीका समयमा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र अभिभावहरुको समस्या सम्वोधन अनि दुई देशविचको कुटनीतिक सम्वन्ध विस्तारका लागि सकारात्मक प्रयास गरेको लगायतका धेरै सुधारका कार्यहरु गरेको हामीले देखेका छौ । राजनीतिक पूर्वाग्रह राखेर यसरी कुटनीतिज्ञलाई फिर्ता बोलाउने परिपाटी नै गलत भएकोप्रति आक्रोश ब्यक्त गर्दै जोशीले भने नियुक्ति गराउन ६ महिना लगाउने, अनि फिर्ता वोलाउन १ घण्टापनि नलाग्ने नेपाल सरकारको यो प्रकृया नै गलत छ ।
विदाइक्रम जारी
राजदूत दाहाललाई विभिन्न सामाजिक संघ संस्थाले बिदाइ गर्ने क्रम जारी राखेका छन् । पत्रकारहरुको संस्था एन्जा, शैक्षिक परामर्शदाताहरुको संस्था –एका) चितवन समाज अष्ट्रेलिया, क्यानवेरा नेपलिज सोसाइटी लगायतले मायाको चिनो सहित विदाइ कार्यक्रम सम्पन्न गरिसकेको छ भने अन्य संस्थाहरुले पनि बिदाइ सम्मान ग्रहणका लागि आग्रह गरिरहेको राजदूत निकट स्रोतले बताएको छ । गत शनिवार सिड्नीमा सामाजिक अभियन्ता खेम शर्माको पुस्तक लोकार्पण कार्यक्रमकै मौका पारेर अष्ट्रेलियामा सकृय पत्रकारहरुले एन्जाको तर्फवाट मायाको चिनो प्रदान गरेका छन् । एन्जाको तर्फवाट प्रदान गरिएको मायाको चिनो हस्तान्तरण कार्यक्रममा अध्यक्ष ऋषि आचार्य,पत्रकारहरु हेमन्त काफ्ले, मनऋषि धिताल, राजु मानन्धर, डिल्ली ढकाल,क्रन्दन चापागाँई, माधव गैरे, कृष्ण तिवारी,प्रकाश हुमागाॅई लगायतको उपस्थिति थियो ।
त्यस्तै गत साता शैक्षिक परामर्शदाताहरुको संस्था –एकाले राजदूत दाहाललाई बिदाइ कार्यक्रमको अयोजना गरेको छ । सिड्नीमा आयोजित सो कार्यक्रममा एकाका अध्यक्ष भुपाल सिटौलाले अप्ठयारो परिस्थितिमा समेत एका र दूतावास मिलेर नेपाली विद्यार्थीको हितमा प्रभावकारी काम भएको र त्यसका लागि राजदूत दाहालको सकारात्मक पाटो महत्वपूर्ण भएको सुनाएका थिए भने पूर्व अध्यक्ष पर्शुराम अधिकारीले गुण र दोष नहेरी राजनीतिक स्वार्थका आधारमा एक मिनेटमै फिर्ता बोलाउने परम्पराको अन्त हुनुपर्ने बताए। एनआरएन आइसीसीका केन्द्रीय उपाध्यक्ष मन केसीले यहाँको नेपाली समाजलाई बुझेका राजदूत दाहालको छोटो बसाइ पनि उपलब्धीपूर्ण रहेको चर्चा गरे । कार्यक्रममा एकाका सचिव कोमलराज पाठक, कोषाध्यक्ष योगेन्द्र पौडेल, पूर्व उपाध्यक्ष राजेशराज जोशी, केन्द्रिय सदस्यहरु सूर्यभक्त खनाल,हिरा कँडेल, र सत्यराज कडेंल लगायतले राजदूत दाहालको छोटो कार्यकालको प्रंशसा गरेका थिए।

This image has an empty alt attribute; its file name is samman-bidai1623666261-1024x742.jpg


यस्तै राजदूत दाहालको सम्मानमा चितवन समाज अस्ट्रेलियाले पनि हालै सिड्नीमा बिदाइ कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा अधिकाशं बक्ताले राजनीतिक फेरबदलका वाबजुद पनि राजदूतलाई पूर्ण कार्यकाल काम गर्न दिइनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले चितवनका स्थायी बासिन्दाका रुपमा रहेका राजदूत दाहालको कार्यकाल सफल रहेको बताएका थिए ।
कार्यक्रममा एनआरएनका महासचिव डा. ज्ञानेन्द्र रेग्मी, दिनेशराज जोशी, एनआरएन अभियन्ता बालचन्द्र भट्टराई ,विश्लेषक डिल्ली ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका पूर्वअध्यक्ष दिनेश पोखरेल, कांग्रेसका पुराना नेता प्रेम सापकोटा ,सामाजिक अगुवा बुद्धी डल्लाकोटी, छबी सापकोटा, महिला नेतृ रन्जु थापा,जानकी पौडेल, युवराज भट्टराईलगायतले दाहाल आफैंमा कुशल वक्ता र सफल राजदूत रहेको बताएका थिए ।

This image has an empty alt attribute; its file name is chitaewan1622897027-1024x576.jpg


राजदूत दाहालको बिदाइमा सार्वजनिक कार्यक्रम मार्फत प्रशंसाको ओइरो आएपनि केही विश्लेषकहरुले भने बिदाइका नाममा सम्मानका प्रचार गर्नुभन्दा आफ्नो छोटो कार्यकालमा राजदूतले गरेको चामत्कारिक र महत्वपूर्ण १० वटा कामका बुँदागत जानकारी दिएको भए सर्वसाधारणलाई बुझ्न सजिलो हुने तर्क पनि गरेका छन् ।

सञ्चारकर्मी कोम खत्रीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘ डियर आत्मीय प्रवासी !महामहिम राजदूत ज्यूलाई सफलतापूर्वक निर्वाह गरिबक्सेको २१ महिनाको कार्यकाललाई उच्च मूल्याङ्कनसहित भारी मनले पुनः भविष्यमा फेरि बोलाउने चाहनाका साथ बधाइ दिएको पढ्न पाइयो । यसरी तपाईं भावनामा बगेर बधाइ दिनुभन्दा एक, दुई, तीन गरेर दशवटा जति बुँदामा महामहिम ज्यूले यस्ता यस्तो चमत्कार गरिबक्सेको थियो त्यसैले बधाइ दिइयो भनेर लेख्दिएको भए हामीजस्ता उहाँका चमत्कारका अञ्जान बबुरोहरू पनि के थाहा जयजयकार गर्न पो लाग्थ्यौं कि ? होइन भने यस्ता भावनाको लेपले पेन्टिङ गर्नेगरी बधाइ कमसेकम अस्ट्रेलियाजस्तो देशमा बसेर नदिएकै राम्रो !’

तपाइँको प्रतिक्रिया