मंगलबार, भदौ १०, २०८२ |Tue Aug, 2025
अक्ल्याण्डको समय: २१:५६ |सिड्नीको समय: १९:५६ |काठमाडौंको समय: १५:४१

आज तीजको रौनक बरउड पार्कमा : भक्ति, संस्कृति, फायरवर्क्स र प्रिमियरको उपस्थिती

एएनजेड खबरअगस्ट २६, २०२५

सिड्नी (ANZ Khabar) – सिड्नीको बरउड पार्क आज तीजको उल्लासले रंगिन लागेको छ। बिहान १० बजेदेखि सुरु भई बेलुकी ८ बजेसम्म चल्ने तीज महोत्सव २०२५मा समुदायका सबै उमेरका मानिसलाई लक्षित विविध कार्यक्रमहरू आयोजना गरिएका छन्।

महोत्सवमा नेपालकी चर्चित कलाकार नीता ढुंगाना तथा सिड्नीमै परिचित गायिका माधबी अर्याल बिष्टाले लाइभ प्रस्तुति दिनेछन्। स्थानीय प्रतिभाहरूले प्रस्तुत गर्ने नृत्य, गीत र सांस्कृतिक झाँकीहरूले महोत्सवलाई अझै रंगीन बनाउने अपेक्षा गरिएको छ। यसैगरी दिनभरि नै शिव पूजाको व्यवस्था गरिएको छ भने कालाग्नि रुद्र पीठ, लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्माले पशुपतिनाथ पूजा र गङ्गा श्रृङ्गार आरती गराउने कार्यक्रम रहेको छ। पूजा गर्ने भक्तजनलाई थाली र आवश्यक पूजाका सामग्री आयोजक समितिद्वारा उपलब्ध गराइनेछ।

संगीतप्रेमीहरूका लागि DJ Nutcaseले दिनभरि नाचगानको माहोल बनाउनेछन् भने विभिन्न सांस्कृतिक तथा खानाका स्टल, शुद्ध शाकाहारी भोजन, आइसक्रीम भ्यान र आकर्षक लक्की ड्र’ले पनि उपस्थितिहरूलाई आकर्षित गर्नेछन्। साँझपख कार्यक्रमको मुख्य आकर्षणका रूपमा फायरवर्क्स प्रदर्शन राखिएको छ, जसले सम्पूर्ण वातावरणलाई झन् उत्सवमय बनाउनेछ।

यस महोत्सवमा विशेष अतिथिका रूपमा न्यू साउथ वेल्सका प्रिमियर माननीय क्रिस मिन्स दिउँसो ४:३० बजे उपस्थित हुने कार्यक्रम रहेको छ।

कार्यक्रम संयोजक लक्ष्मी वस्ताकोटीले ANZ Khabar सँग कुरा गर्दै भनिन् :
“तीज महोत्सव हाम्रो संस्कृतिको सुन्दर अभिव्यक्ति मात्र होइन, प्रवासमा रहेका नेपालीहरूलाई एउटै धागोमा बाँध्ने अवसर पनि हो। हामीले यस वर्षलाई अझ भव्य बनाउन कलाकार, पूजा, सांस्कृतिक प्रस्तुति र फायरवर्क्ससम्मको व्यवस्था गरेका छौं। महिला, परिवार र नयाँ पुस्ता सबैले रमाइलो र आत्मीयता अनुभव गर्ने वातावरण बनाउन हाम्रो तयारी पूरा भएको छ।”

निःशुल्क प्रवेशसहित आयोजना गरिएको यस महोत्सवलाई सिड्नीवासी नेपाली समुदायको लागि भक्ति, संस्कार, संस्कृति र मनोरञ्जनको अद्भुत संगम मानिएको छ। आयोजक समितिले सम्पूर्ण समुदायलाई परिवारसहित सहभागी भई यस दिनलाई अविस्मरणीय बनाउन आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया