बुधबार, भदौ ४, २०८२ |Wed Aug, 2025
अक्ल्याण्डको समय: १५:४२ |सिड्नीको समय: १३:४२ |काठमाडौंको समय: ०९:२७

कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

एएनजेड खबरअगस्ट १६, २०२५

काठमाडौं । कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।

हालसम्म मृत्यु हुने २३ मध्ये १६ जनाको नेपाली राष्ट्रियता खुलेको र बाँकी भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको छ ।

यता, कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन आग्रह गरेको छ।

शुक्रबार साँझ विज्ञप्ति जारी गरी दूतावासले विषाक्त मदिरा सेवनबाट नेपालीको निधन भएको घटनामा दुःख व्यक्त गर्दै यस्तो आग्रह गरेको हो।

‘स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहनु हुनसमेत राजदूतावास विशेष अनुरोध गर्दछ,’ दूतावासले भनेको छ।

दूतावासले घटनामा ३५ नेपाली नागरिक विभिन्न स्थानीय अस्पतालमा उपचाररत रहेको पनि जनाएको छ। घटनाबारे जानकारी पाएसँगै राजदूत र दूतावासका कर्मचारीहरूले नेपालीको उपचार भइरहेका अस्पताल पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिएको पनि विज्ञप्तिमा उल्लेख छ।

मदिरा सेवनपछि बिरामी भएका १६० बढीको स्थानीय अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको पनि महासंघले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया