सोमबार, असार २, २०८२ |Mon Jun, 2025
अक्ल्याण्डको समय: ०१:४३ |सिड्नीको समय: २३:४३ |काठमाडौंको समय: १९:२८

रविन्द्र मिश्र, धवलशम्सेरसहित ६२ जनाविरुद्ध मुद्दा दर्ता

एएनजेड खबरमे २६, २०२५

काठमाडौं । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको तोडफोड, आगजनी र लुटपाट लगायतको गतिविधिमा संलग्न भएर प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपसहित ६२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

काठमाडौँ जिल्ला प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणासहित ६२ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।

मिश्र र राणाविरुद्ध चार कसूरमा मुद्दा दायर भएको छ । उनीहरू दुवैविरुद्ध समान कसूरमा अभियोजन भएको हो । सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा दुवै जनाविरुद्ध राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसूरमा मुद्दा दायर गरेको छ ।

गत चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा भएको प्रदर्शनको कमान्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको थियो ।

हिंसात्मक प्रदर्शनका आरोपीमध्ये प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको छ । प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको राजावादी समूहले लगाएको आगोमा जलेर ज्यान गएको थियो भने प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु भएको थियो ।

दुई जनाको ज्यान गएको उक्त घटनामा प्रसाईंसहित हरिहर चौलागाईं, तारा राजावादी भनिने सरोज गौतम, सतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दायर गरिएको हो ।

यता प्रसाईंले चैत १४ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा भेटेको बयान प्रहरीलाई दिएका छन् ।

तपाइँको प्रतिक्रिया