बिहीबार, असार २६, २०८२ |Thu Jul, 2025
अक्ल्याण्डको समय: ११:०७ |सिड्नीको समय: ०९:०७ |काठमाडौंको समय: ०४:५२

प्रधानमन्त्रीसँगै स्पेन गएकामध्ये केही उतै लुगेको हल्लापछि मन्त्रालयले दियो प्रष्टिकरण

एएनजेड खबरजुलाइ १०, २०२५

काठमाडौं । स्पेनको सेभिया सहरमा आयोजित चौथो अन्तर्राष्ट्रिय सम्मेलन ‘विकासका लागि वित्त’ (एफएफडी ४) मा सहभागी नेपाली प्रतिनिधिमण्डलमध्यबाट केही व्यक्ति उतै हराएको भन्ने चर्चाबारे परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सहभागिता सधैं स्पष्ट मापदण्ड, सरकारी दायित्व, राष्ट्रहितको प्रवर्द्धन र मितव्ययिताका आधारमा मन्त्रिपरिषद्बाट निर्णय हुँदै आएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेमा अन्तर्राष्ट्रिय प्रचलन र स्थापित प्रक्रियाअनुसार निर्णय लिने गरिएको हो।’

गत ३० जुनदेखि ४ जुलाई २०२५ सम्म सम्पन्न सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र ती सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसकेको मन्त्रालयले स्पष्ट पारेको छ।

साथै, सम्मेलनका क्रममा नेपालको सक्रिय नेतृत्व, विभिन्न सत्रहरूमा सहभागिता, द्विपक्षीय तथा बहुपक्षीय भेटघाट तथा हासिल उपलब्धिहरूसम्बन्धी विस्तृत विवरण परराष्ट्र मन्त्रालय र अन्य आधिकारिक निकायहरूबाट पहिले नै सार्वजनिक भइसकेको मन्त्रालयको भनाइ छ।

यस्ता भ्रामक र आधारहीन प्रचारप्रति विश्वास नगर्न र सत्यतथ्य बुझेर मात्रै धारणा बनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया