नेपालीले पनि अब निजी जहाज किन्न पाउने !
काठमाडौं । सरकारले नयाँ हवाई नीति ल्याउने तयारी थालेको छ । १९ वर्ष अगाडिको हवाई नीतिलाई विस्थापन गर्दै नयाँ नीति ल्याउन लागिएको हो ।
राष्ट्रिय हवाई नीति २०८२’ को मस्यौदा तयार गरिदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ हवाई नीतिको मस्यौदा तयार पारेर प्रारम्भिक छलफल सुरु गरेको छ ।
नयाँ हवाई नीतिले निजी प्रयोजनका लागि कुनै व्यक्ति वा संस्थालाई वायुसेवा सञ्चालन गर्न अनुमति दिने व्यवस्था गर्ने भएको छ । यो व्यवस्थापछि नेपालमा पहिलोपटक व्यक्तिगत प्रयोजनका लागि जहाज राखेर उडान गर्न पाइन्छ । हाल व्यवसायिक प्रयोजनका लागि मात्रै नेपालमा हवाई जहाज तथा हेलिकप्टर सेवा सञ्चालन गर्न पाइने व्यवस्था छ।
निजी वायुसेवा राख्न पाइने व्यवस्था छैन भने निजी प्रयोजनमा हाल चार्टर गरेर (भाडामा) हेलिकप्टर प्रयोग हुँदै आएको छ । नयाँ हवाई नीति जारी भएपछि भने व्यापारिक उडान गर्न नपाउने र हवाई सुरक्षाका प्रावधानलाई अनिवार्य पालना गर्नुपर्ने शर्त भने तोकिने छ । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशा र व्यवसायका व्यक्तिले आफ्नै जहाज राख्ने गरेका छन् ।
मन्त्रालयले तयार पारेको हवाई नीतिको प्रारम्भिक मस्यौदामा नेपाल वायुसेवा निगमको एकाधिकार रहेको भूमिस्थ प्रवन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ सर्भिस)लाई समयानुकुल सुधार गर्दै गुणात्मक तथा प्रतिस्पर्धी बनाइने उल्लेख छ ।
तपाइँको प्रतिक्रिया