राजेश बुढाथोकी बने अध्यक्ष, पर्थमा नेपाली केन्द्रको सपना साकार हुने अपेक्षा

पशुपतिनाथ–बौद्धनाथ अफ वेष्टर्न अष्ट्रेलिया इन्कर्पोरेटले नयाँ नेतृत्व चयन गर्दै पर्थमा नेपाली शैलीको सामुदायिक केन्द्र निर्माणतर्फ ठोस र आशाजनक प्रगति थालेको छ। आइतबार सम्पन्न संस्थाको अधिवेशनबाट राजेश बुढाथोकी नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन्।
नवगठित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ, जसको मुख्य लक्ष्य पहिल्यै खरिद गरिएको जमिनमा नेपाली शैलीको मन्दिर, गुम्बा र बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्नु हो। अध्यक्ष बुढाथोकीले समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, यो कार्यकालभित्र मन्दिरको जग हाल्न सफल भएमा त्यो नै ठूलो उपलब्धि हुनेछ। परियोजना सम्पन्न गर्न करिब १९ लाख अष्ट्रेलियन डलर लागत लाग्नेछ भने थप १० लाख डलर सहयोग राशी संकलन गर्न उनले नेतृत्व लिनेछन्।
राज्य सरकार, राजनीतिक दलहरू, समाजसेवी तथा अन्य संघसंस्थासँग सहकार्य गरेर यो योजना कार्यान्वयन गरिने बुढाथोकीको भनाइ छ। उनले स्पष्ट पारे, “जग्गा खरिद भइसकेकोले अब सरकारी निकाय र समुदायसँग समन्वय गर्न सहज भएको छ। सहयोग र अनुदान संकलनका लागि छुट्टै टिम बनाएर काम अघि बढाइनेछ।”
नवगठित कार्यसमितिमा अध्यक्ष राजेश बुढाथोकी, उपाध्यक्ष केदार रिजाल, कोषाध्यक्ष प्रकाश थपलिया र सह–सचिव शान्ति लामिछाने भण्डारी रहेका छन्। त्यस्तै सदस्यहरूमा भरत निउरे, चुडामणि लामिछाने, देव अर्याल, धनलाल श्रेष्ठ, राजीव श्रेष्ठ, विद्या शर्मा, राज थपलिया, भरत अर्याल, मिन सुब्बा गुरुङ, बैकुण्ठप्रसाद दुलाल र दिनेश तुलाधर छन्। सचिवको चयन भने कार्यसमितिको आगामी बैठकबाट गरिने जनाइएको छ।
राजेश बुढाथोकी पर्थका एक सफल व्यवसायी हुन्। उनी लामो समयदेखि विभिन्न सामाजिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन्। बुढाथोकीको नेतृत्वमा पर्थमा पहिलोपटक नेपाली समुदायका लागि यस्तो ठुलो संरचना बन्ने अपेक्षा गरिएको छ।

पर्थस्थित नेपाली समुदायमा उत्साह र आशा जगाउने यस योजनाले आगामी दिनमा अष्ट्रेलियामा नेपाली संस्कृतिको पहिचान झन् बलियो बनाउने अपेक्षा गरिएको छ।
तपाइँको प्रतिक्रिया