मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: २२:०९ |सिड्नीको समय: २०:०९ |काठमाडौंको समय: १५:५४

‘डिजिटल खाडल घटाउनु नै युवालाई सशक्त बनाउने मुख्य उपाय’

एएनजेड खबरजुन २२, २०२५

सिएटल, अमेरिका – बेलायतमा मुख्यालय रहेको मूल्य-आधारित आईटी परामर्श तथा साइबर सुरक्षा कम्पनी जेनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालजस्ता विकासशील देशहरूमा युवालाई सशक्त बनाउन डिजिटल खाडल (digital divide) अन्त्य गर्नु अत्यावश्यक भएको बताएका छन्।

अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्बेसडर ग्लोबल समिट २०२५ मा “Empowering Remote Hills in Nepal: Sustainable Livelihoods through AWS Skills” शीर्षकमा प्रस्तुति दिँदै, बेलायत र आयरल्यान्डका लागि सन् २०२४ का शीर्ष एडब्लुएस एम्बेसडर फुयाँलले भने, “डिजिटल रूपले सम्प्रभु नेपाल” को परिकल्पना गर्दै ग्रामीण युवालाई सिक्न, कमाउन र नेतृत्व गर्न सक्ने वातावरण बनाउँदा स्थानीय रोजगारी सिर्जना हुनेछ, साथै वैदेशिक रोजगारीका लागि भैरहेको युवा पलायन पनि घट्नेछ।”

उहाँले बताएअनुसार, अहिले हरेक दिन झण्डै १,७०० नेपाली युवा रोजगारीको खोजीमा देश छोडिरहेका छन्। यस सन्दर्भमा फुयाँलले भोजपुर, सुर्खेत लगायतका दुर्गम जिल्लामा जेनेस सोलुशनले सञ्चालन गरिरहेको तालिम कार्यक्रमहरूको चर्चा गरे, जसको उद्देश्य स्थानीय स्तरमै युवालाई प्रशिक्षण, स्रोत र प्रेरणा प्रदान गरी उनीहरूलाई आफ्नै स्थानमा रोजगारी गर्न सक्षम बनाउनु हो।

“हामीले हालसम्म ५ वटा सामुदायिक टेक ल्याब स्थापना गरिसकेका छौं र क्लाउड कम्प्युटिङ तथा साइबर सुरक्षामा ३०० भन्दा बढी युवालाई तालिम दिइसकेका छौं। अहिले हामी ५ प्रदेशका १२ जिल्लामा सक्रिय छौं र झण्डै १ दर्जन सार्वजनिक–निजी साझेदारहरू हाम्रो अभियानमा सहभागी भइसकेका छन्,” उनले भने। “विश्वव्यापी प्रविधिले स्थानीय यथार्थसँग मेल खानु पर्छ।”

तालिम सुरु गर्नु अघि ती जिल्लामा कुनै डिजिटल पूर्वाधार थिएन, न त विद्यार्थीहरूले क्लाउड प्रविधि वा कोडिङमा कुनै अनुभव नै प्राप्त गरेका थिए। “छात्रछात्राहरूले पहिले एडब्लुएस प्रयोग गरेका थिएनन्, टेक ल्याबमा पनि कहिल्यै काम गरेका थिएनन्। हामीले २५ जना विद्यार्थीलाई लिएर १० दिने इन्टेन्सिभ क्लाउड बुटक्याम्प सञ्चालन गर्‍यौं,” फुयाँलले भने।

“सबै २५ जना सहभागीले तालिम सफलतापूर्वक पूरा गरेका छन् र धेरैजना अहिले जेनेसमा इन्टर्नको रूपमा कार्यरत छन्। अहिले स्थानिय विद्यालयहरू र अभिभावकहरूले यो कार्यक्रम छिमेकी वडाहरूमा पनि विस्तार गरिदिन माग गरिरहेका छन्,” उनले थपे।

“हामी यस्तो भविष्य बनाउने चाहना राख्छौं, जहाँ नेपाली युवाहरूले देशको प्रविधिमा आधारित अर्थतन्त्रको नेतृत्व गर्न सकून्। हामी नेपालको युवाशक्ति नै भविष्यको टेक इकोनोमीको इञ्जिन बन्ने परिकल्पना गर्छौं,” फुयाँलले भने। साथै, उनले विश्व प्रविधि समुदायलाई नेपालमा युवा सशक्तीकरणका लागि जगदेखि सहकार्य गर्न आह्वान पनि गरे।

जेनेस सोलुशन हाल बेलायत, अष्ट्रेलिया, नेपाल, बंगलादेश, नाइजेरिया, अमेरिका लगायत १० देशमा क्रियाशील छ र सार्वजनिक तथा निजी क्षेत्रका लागि डिजिटल रूपान्तरण, क्लाउड, र साइबर सुरक्षा सेवाहरू प्रदान गरिरहेको छ, जसले तत्कालिक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ।

तपाइँको प्रतिक्रिया