शुक्रबार, जेठ ३१, २०८२ |Fri Jun, 2025
अक्ल्याण्डको समय: ०९:१२ |सिड्नीको समय: ०७:१२ |काठमाडौंको समय: ०२:५७

सेक्स चेन्ज अपरेसनका लागि कानुनी जटिलता, छैन् सरकारको प्राथमिकता

एएनजेड खबरजुन ९, २०२५

-युवराज गौतम

काठमाडौं । नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्व सम्पन्न गरिएपनि यसको वैधानिक पाटो पेचिलो बनेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिएपनि नीतिगत वा वैधानिक पाटोमा भने मौन देखिएको छ । अस्पतालका प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्राडाजयनमान श्रेष्ठले विदेशी प्लााष्टिक सर्जन डा.अलिरेजा हमिदियन जहरोमीको नेतृत्वमका जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा पहिलो पटक सेक्स चेन्ज अपरेसन गरेको हो ।

उनले पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको जानकारी दिए । उनले भने,हामीले विदेशी प्लााष्टिक सर्जन डा.अलिरेजा हमिदियन जहरोमीको नेतृत्वमा र मेरो संयोजकत्वमा जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा सेक्स चेन्ज अपरेसन सम्मपन्न गरेको छौं । पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको छ । यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरेका छौ ।’

उनले बढिमा डेढ लाखदेखि दुई लाखसम्मको खर्चमा अपरेसन सम्पन्न हुने जानकारी दिँदै अन्य देशहरुको तुलनामा एकदमै सस्तो भएको बताए । डा.श्रेष्ठका अनुसार ट्रान्सजेन्डरले विदेशबाट अपरेसन गरेर आएपछि आफ्नो कागजातमा लिङ्ग परवर्तन गर्ने व्यवस्था थियो । तर यो अपरेशन गर्न पाइने या नपाइने विषय नेपालको कानुनमा उल्लेख छैन । स्वास्थ्य उपचार सबैले गर्न पाउने मौलिक अधिकार भित्र रहेर आफूहरुले सेवा दिएको भन्दै उनले कानुनी रुपमा नै अधिकार दिएमा सेवा दिन थप सहज हुने धारणा राखे । सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता भने हटेको छ ।

कानुनी तथा नीतिगत ढाँचा तयार छैन । चिकित्सकीय निर्देशन, सामाजिक परामर्श तथा मनोवैज्ञानिक मूल्याङ्कनको पूर्वतयारी पनि नरहेको अवस्थामा सेक्स चेन्ज गर्नुलाई सामान्य रुपमा लिन सकिदैन् । नेपालमा लिङ्ग परिवर्तनबारे स्पष्ट कानुन छैन। न त स्वास्थ्य मन्त्रालयले नीति बनाएको छ, न त शल्यक्रिया प्रक्रिया अनुगमन गर्ने संयन्त्र छ।

तर डा.अलिरेजा हमिदियन जहरोमीले नेपालमा पहिलो पटक भएको यस्तो अपरेसन भएको भन्दै यसलाई ट्रान्सजेन्डरहरुको लागि नेपाली समाजमा समानताकोे अत्यन्तै महत्वपूर्ण कदमको रुपमा आफूले लिएको बताए ।

उनले भने,‘नेपालमा यस्तो अपरेसन पहिलो पटक भएको हो । यो नेपालकै इतिहासमा एउटा महत्वपूर्ण कदम हो । ट्रान्सजेन्डरहरुको नेपाली समाजमा समानताको लागि पनि यो अत्यन्तै महत्वपूर्ण कदमको रुपमा मैले लिएको छु ।मलाई यो महत्वपूर्ण कदमको हिस्सा बन्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । म आगामी दिनहरुमा पनि यस्तो सर्जरीहरुमा निरन्तर सहयोग गर्ने पूर्ण रुपमा प्रतिबद्धता जनाउन चाहन्छु ।’ त्यस्तै उनले नेपालमा सर्जरीको लागि समक्ष सर्जनहरु रहेको समेत बताए ।

यस्तै, त्रिवि शिक्षण अस्पतालका सर्जन डा.इश्वर लोहनीले लैङ्गिक पहिचान पुष्टि शल्यक्रिया एउटा सुरुवात मात्र रहेको बताए । सेवा सुरु गरेर निरन्तर दिनलाई अप्ठ्यारो हुने भन्दै उनले सेवा सुरु गर्ने भन्दा पनि सेवालाई निरन्तरता दिने कुरा महत्वपूर्ण भएको धारणा राखे ।

ब्लु डाइमन्ड सोसाइटिमा आवद्ध पिटर राईले नेपालको सर्जरीको प्रकृयाको इतिहास हेर्दा ट्रान्सजेन्डर समूदायमा सर्जरीको रिजल्टमा अविश्वासको समस्या रहेको बताइन् । भारतमा बढी पैसा लागेपनि रिजल्ट धेरै राम्रो देखिने गरेकाले नेपालमा पनि यो सर्जरीलाई निरन्तरता दिँदै विश्वासको वातावरण बनाउनुपर्ने औंल्याइन् । विदेशमा सर्जरीको लागि जाँदा धेरै लागत लाग्ने अनुभव सुनाउँदै उनले नेपालमा सेवा सुरु हुँदा कनेक्सनको महशुस र सहज प्रकृया हुने बताइन् ।

शिक्षण अस्पतालका अनुसार अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका सर्जरी गरेको थियो । त्यसै क्रममा देशमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको सेक्स चेन्ज अपरेसन पनि सफल भएको हो । शिक्षण अस्पतालको यो सफलतालाई ट्रान्सजेन्डरहरुले खुशी मानेपनि नीतिगत समस्या भने कायमै रहेको छ ।

लिङ्ग परिवर्तन शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिका लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने एक महत्त्वपूर्ण उपायमध्ये एक हो । धेरै ट्रान्सजेन्डरले यो शल्यक्रिया गर्ने जरुरी नठाने पनि केही ट्रान्सजेन्डरले शल्यक्रियापछि आफू सम्पूर्ण रूपमा परिवर्तित लैङ्गिक पहिचानको पाएको महसुस गर्ने विश्वास लिएका छन् ।

तपाइँको प्रतिक्रिया