शुक्रबार, जेठ ३१, २०८२ |Fri Jun, 2025
अक्ल्याण्डको समय: ०९:३४ |सिड्नीको समय: ०७:३४ |काठमाडौंको समय: ०३:१९

एनआरएनए अस्ट्रेलियामा फुटको शंकाबिच इर्सादले दिए समाधानको सुझाब

एएनजेड खबरजुन ८, २०२५

गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समितिको ओसिनिया क्षेत्रको हालै निर्वाचित क्षेत्रीय संयोजक तथा अष्ट्रेलियाका पूर्व युवा संयोजक इर्साद अहमदले एनआरएनए अस्ट्रेलियामा बढ्दो आन्तरिक मतभेदप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई एकताबद्ध संवादको पहल गर्न सार्वजनिक अपील गरेका छन्।

उनले आईतबार सार्वजनिक गरेको विज्ञप्तिमा एनआरएनए अस्ट्रेलियाको सफलताको जग नै एकता भएको उल्लेख गर्दै, यो एकता जोगाउन अब ढिलो नगरी समावेशी र सम्मानजनक संवाद आवश्यक रहेको बताएका छन्।

“आईसीसी स्तरका विचार भिन्नता जुनसुकै भए पनि, म दृढताका साथ विश्वास गर्छु कि एनआरएनए अस्ट्रेलिया एकताबद्ध रहनु अत्यावश्यक छ,” इर्सादले भनेका छन्।
“यसका लागि एनआरएनए का संरक्षकहरू, पूर्व अध्यक्षहरू, भूतपूर्व पदाधिकारीहरू र हालका पदाधिकारी सहित सबै समुदाय नेतृत्वकर्ताहरू एकै ठाउँमा बस्न आवश्यक छ।”

उनले हालै को ओसिनिया क्षेत्रीय संयोजकमा निर्वाचित भए पनि यो पद उल्लेख नगरी आफूले एनआरएनए अस्ट्रेलियाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै नेतृत्वको भूमिकाको आवश्यकता औँल्याएका छन्।
आफु एनआरएन अष्ट्रेलियाको पूर्व युवा संयोजक र आजीबन सदस्य रहेको उल्लेख गर्दै एनआरएन अस्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोखरेल र कार्यसमिति नै यो संवाद प्रक्रिया सुरु गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ।

“हामी सबैको संयुक्त प्रयास, समय र समर्पणले अस्ट्रेलियालाई विश्वका उदाहरणीय राष्ट्रिय समन्वय परिषदमध्ये एक बनाएको छ। यो सम्मान र सफलताको जग हाम्रो एकता नै हो,” विज्ञप्तिमा भनिएको छ।

इर्सादले सकारात्मक सोच, सद्भाव र रचनात्मक संवादबाट सहमति सम्भव रहेको विश्वास व्यक्त गरेका छन् , तर यसका लागि नेतृत्वले अग्रसरता लिनु जरुरी रहेको स्पष्ट उल्लेख गरेका छन्।

एनआरएन अष्ट्रेलिया फुटको संघारमा रहेको हल्ला बिच आएको इर्सादको यो बिज्ञप्तिले संस्थालाई एक बनाई राख्न सवै पक्षलाई दबाब पुग्ने अपेक्षा गरिएको छ ।

तपाइँको प्रतिक्रिया