बिहीबार, वैशाख २५, २०८२ |Thu May, 2025
अक्ल्याण्डको समय: ०७:३३ |सिड्नीको समय: ०५:३३ |काठमाडौंको समय: ०१:१८

एनआरएनए एकता महाधिवेशन जारी, सर्वसम्मत नेतृत्व चयन गर्न दबाब

एएनजेड खबरमे ४, २०२५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको छ । तीन दिनको अधिवेशन आइतबार पनि जारी छ । आइतबार निर्वाचन प्रक्रिया शुरु भएको छ ।

उदघाटन सत्रमा एनआरएनएसँग सम्बन्धित विभागीय मन्त्री परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्यता तथा विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिको सहभागितामा महाधिवेशन सुरु गरिएको थियो ।

महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै बद्री केसी नेतृत्वको समूह भने सहभागी भएको छैन । तर, परराष्ट्रमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको डा.शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशन नै आधिकारिक हुने बताएकी छन् । शनिबार राजधानीमा सुरु भएको एनआरएनएको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सबै पक्षलाई यही महाधिवेशनमा जोडिन समेत सुझाव दिइन् ।

‘हामी एउटा मात्रै एनआरएनए रेकोग्नाइज गर्न सक्छौँ । हामीलाई परमादेशले त्यही भनेको छ’, उनले भनिन्, ‘परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयले पनि त्यही अनुसार कामहरू गरिरहेको छ। मेरै मन्त्रालयको सम्बन्धित उपसचिवलाई सोध्दा यही मात्र एनआरएनए हो है भन्नु भएको छ । सबै जनालाई यसमै जोडिनुस् भन्नु चाहन्छु । सानातिना समस्या जहाँपनि हुन्छ । तर, एकता गर्नुस् र एकताबाट जे गर्न खोज्नु भएको छ त्यहीबाटै देशलाई योगदान दिन सक्नुहुन्छ ।’ एनआरएनएको बद्री केसी पक्ष वैधानिकतामाथि प्रश्न उठाउँदै एकता महाधिवेशनमा सहभागी नभएको अवस्थामा राणाले सर्वोच्च अदालतले निर्णय गरेअनुसार एकताको महाधिवेशन भएको बताइन् ।

उनले एनआरएनएको एकता महाधिवेशनमा सहभागी नभएको बद्री केसी पक्षलाई समेत एक ठाउँमा उभिन आग्रह गरिन् । ‘जति साथीहरु आज जोडिन आउनु भएन, उहाँहरूलाई पनि भन्न चाहन्छु, पार्टीगत राजनीति आफ्नो आफ्नो संस्थामा गर्नुस् । यहाँचाहिँ इगोलाई पनि प्रवेश गर्न नदिनुस् र एनआरएनएको स्ट्रेन्थलाई बढाइदिनुस्’, उनले भनिन्, ‘यो गर्दा मन्त्रालयलाई पनि सजिलो हुन्छ ।’

त्यस्तै पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले एनआरएनएलाई नयाँ आकार दिने उपयुक्त समय नै एकता महाधिवेशन भएको भन्दै सबैलाई मिलाएर लैजान शुभकामना दिए । उनले विदेशमा रहेका नेपालीहरुहरुको सिप नेपालमा उपयोग गर्न सक्नुपर्ने बताए । कार्यक्रमका सभापति तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकता महाधिवेशनमा आएका आरोह अवरोधलाई सम्बोधन गर्दै अव एनआरएनए युवा पुस्ताका लागि हुनुपर्ने बताए । उनले आफूहरूको समय र अहिलेको समय फरक भएकाले अब युवाहरू नेतृत्वमा आकर्षित गराउन सक्नुपर्ने नत्र संस्थाको औचित्य नै समाप्त हुने भएकाले सबैले ध्यान दिने सुझाव दिए । घलेले सर्वोच्चको फैसला आफूले कार्यान्वयन गरेको तर यसरी कार्यान्वयनमा लाग्दा तीन थान मुद्दा समेत खेप्नुपरेको बताए ।
उनले निर्वाचन विवादरहित बनाउन सदस्यतादेखि अन्य सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको जानकारी पनि गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा आइतबार निर्वाचन मार्फत नयाँ प्रतिनिधि छानिँदै छ । सोमबार कार्यक्रम समापन हुनेछ । कार्यक्रममा एनआरएनए अभियन्ताहरू देवमान हिराचन, आरके शर्मा, केशव पौडेल, महेश श्रेष्ठ, रविना थापा, कुल आचार्य, विनोद कुँवर र जानकी गुरुङले सर्वोच्चको परमादेशअनुसार एकता महाधिवेशन भएको बताउँदै एकताबद्ध एनआरएनए अहिलेको आवश्यकता भएको बताए ।

सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिको पहलमा भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । नयाँ नेतृत्वका लागि आरके शर्मा, महेश श्रेष्ठ, केशव पौडेललगायतको नाम अगाडि आएको छ । तर, सहमतिमै नेतृत्व चयन गर्नेगरी तयारी र पहल भइरहेको अभियन्ताहरूले बताएका छन् । यसमा परराष्ट्रमन्त्री आरजु राणाले समेत कार्यक्रममा आफ्नो सहभागिताका लागि सहमतिमा नेतृत्व चयन हुनुपर्ने सर्त राखेको अभियन्ताहरू बताउँछन् ।

एनआरएनएनको नयाँ नेतृत्वका लागि आरके शर्मा, डा.केशव पौडेले इच्छा देखाएका छन् । तर, सहमतिमै नेतृत्व चयन गर्नेगरी जोडबल भइरहेको अभियन्ताहरूले बताएका छन् । यसमा परराष्ट्रमन्त्री राणाले समेत कार्यक्रममा आफ्नो सहभागिताका लागि सहमतिमा नेतृत्व चयन हुनुपर्ने सर्त राखेको अभियन्ताहरू बताउँछन् ।

तपाइँको प्रतिक्रिया