शनिबार, मंसिर २९, २०८१ |Sat Dec, 2024
अक्ल्याण्डको समय: ०७:४४ |सिड्नीको समय: ०५:४४ |काठमाडौंको समय: ००:२९

लन्डनमा बुद्ध जयन्ती : साढे तीन फिट अग्लो बुद्ध मूर्ति र क्यानभास सबैको आकर्षण

एएनजेड खबरजुन ४, २०२४

लन्डन । दक्षिण पूर्वी लन्डनमा २५६८औं बुद्धजयन्ती भव्य समारोहका बीच मनाइएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सैयौं नेपाली तथा स्थानीय ब्रिटिश समुदाय सहभागी भएका थिए।

भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे।

उनले विश्वसम्पदा सूचीमा समावेश लुम्बिनीको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रमका प्रस्तुतिहरुले नेपालको सामाजिक एवम् सांस्कृतिक विविधता झल्काएको राजदूत आचार्यले उल्लेख गरे।

स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतको नेपाली समुदायलाई यहाँका अन्य समुदायसँग अन्तरघुलन गराउन र बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पुर्याउने आशा व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुलाई स्थानीय बरोले सधैँ सहयोग गर्ने पनि बताए।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए भने ११ वर्षीया बालिका आर्या श्रेष्ठले मन्तव्य दिएकी थिइन्।

आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले भगवान बुद्धको जन्म नेपालमा भएको हो भन्ने संदेश दिन र उहाँको संदेश फैलाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिए।

कार्यक्रमको आकर्षण

नेपालबाट ल्याइएका साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’कार्यक्रममा आकर्षण बनेका थिए ।

ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका सामग्रीले कार्यक्रमस्थल सजिएको थियो ।

बालबालिकालाई बुद्ध दर्शनसम्बन्धि जानकारी दिने उद्धेश्यले पुस्तक र पोष्टरहरु प्रदर्शन गरिएको थियो । सोहि अवसरमा बालबालिकामाझ बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिष्पर्धा गराएर पुरस्कृत गरिएको थियो ।

कार्यक्रम संयोजक एवम् उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। सो अवसरमा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा, दीपक थापालगायतले गायन प्रस्तुत गरेका थिए।

त्यस्तै, पासा पुच: यूकेद्वारा धिमे बाजा र लाखे नाच देखाइएको थियो। ससाना बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए ।

कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै अतिथि एवम् सहभागीहरुले सामूहिक दीप प्रज्ववलन गरेका थिए । लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा लन्डनमा बुद्धजयन्ती कार्यक्रम मनाउँदै आइएको छ ।

तपाइँको प्रतिक्रिया